धनगढी: ४ असोजमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुराको अजयमेरू गाउँपालिका–५ मा वडा अधिवेशन बोलाइयो । तर, वडा अधिवेशनमा गाउँपालिका उपाध्यक्षसमेत रहेकी बसन्ती पाल, वडा सभापति सुरेन्द्र पन्तसहित पाँच जना मात्रै सहभागी भए । अधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि छान्न सकस भयो । जिल्लामै नभएका तथा भारतमा रहेका व्यक्तिको नामसमेत राखेर किर्ते हस्ताक्षर गर्दै २८ जना उपस्थित भएको माइन्युट तयार पारियो । अनि वडा समिति र क्षेत्रीय प्रतिनिधि पनि छानियो ।
अजयमेरू–५ मा मात्रै नभएर जिल्लाका ५२ मध्ये अधिकांश वडामा यसैगरी वडा अधिवेशन गरिएको आरोप कतिपय नेताहरूको छ । कतिपय वडामा त अधिवेशन हुने अवस्था नदेखिएपछि जिल्ला सभापति भीमबहादुर साउदले आफूअनुकूल व्यक्तिलाई जिल्ला सदरमुकामको होटलमै बोलाएर क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र बाँडिएको आरोपसमेत लागेको छ ।
‘वडा मात्रै होइन, गाउँ र नगरका अधिवेशन पनि सोही किसिमले गरिएको छ,’ एक कांग्रेस नेताले भने, ‘अधिवेशन कहाँ भयो, क्रियाशील को हुन् भन्ने नै थाहा भएन । अधिवेशनका अधिकांश गतिविधि खुला रूपमा भन्दा होटलबाट सञ्चालन गरिए ।’ कांग्रेसले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको भन्दै अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न जिल्लामा पत्राचार गरिसकेको थियो । डडेल्धुरामा पनि ९ असोजदेखि नै लगातार वर्षा भइरहेको थियो । तर, जिल्ला समितिले भारी वर्षा भइरहेकै समयमा १० असोजमा प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन आह्वान गर्यो ।
१३ सयभन्दा बढी क्षेत्रीय प्रतिनिधिमा अधिवेशनमा दुई सय पनि सहभागी भएनन् । ‘१३ सय प्रतिनिधिमध्ये दुई सय पनि सहभागी भएनन्,’ सामाजिक सञ्जालमा पत्रकार डीआर पन्तले लेखेका छन्, ‘अधिवेशन हलमा विवाद भयो । मध्यरातमा केही व्यक्ति बसेर अधिवेशनको नाममा महाधिवेशन प्रतिनिधि छानेर टाँस लगाएछन् । तीन दिनदेखिको लगातार वर्षाले यातायात ठप्प छ । प्रतिनिधि सदरमुकाम आउन सक्ने अवस्था नै थिएन । गाउँमा प्रतिनिधिले अधिवेशनको जानकारीसम्म पाएनन् । डडेल्धुरामा कस्तो अधिवेशन भएछ रु पार्टी यत्रो संकटमा परेको बेला पनि यसरी अधिवेशन गर्नेहरूबाट के आशा गर्ने ?’
अधिवेशनमा महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद भएको थियो । पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृत विक्रम सापकोटाले महाधिवेशन प्रक्रिया दोस्रो दिन अगाडि बढाउने बताएपछि अधिवेशनमा सहभागी अधिकांश क्षेत्रीय प्रतिनिधि हलबाट बाहिरिए । तर, सोही राति ३४ जना महाधिवेशन प्रतिनिधिको नाम टाँसेर निर्वाचन अधिकृत सापकोटा बिहानै धनगढी पुगेका थिए । अधिवेशनमा सहभागी भएका युवा नेता हरिश महराले निर्वाचनबाट पनि वञ्चित गराइएको बताएका छन् । ‘पार्टीको अधिवेशनमा हामीले सकभर सहमति र सहमति भएन भने लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि छनोट हुने अपेक्षा गरेका छौँ,’ उनले भनेका छन्, ‘तर आफ्ना नातागोता र वरिपरिकालाई महाधिवेशन प्रतिनिधिमा पठाउने र अरूलाई अवसर नै नदिने र निर्वाचनसमेत नगराउने अवस्था आयो । यदि महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने हो भने सबैलाई समान अवसर दिएर निर्वाचनमार्फत प्रतिनिधि छानिनुपर्छ । नेताको नजिक भएकै आधारमा कसैलाई पठाउने र अरू इच्छुक कार्यकर्तालाई अवसर नदिने प्रवृत्तिले कार्यकर्ताको भावना र लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउँछ ।’
यता, निर्वाचन अधिकृत विक्रम सापकोटाले क्षेत्रीय अधिवेशनको बन्द सत्रले एउटा कार्यदल गठन गरेको र सोही कार्यदललाई महाधिवेशन प्रतिनिधि छान्ने म्यान्डेट दिएको बताए । ‘कार्यदलले छानेका नामलाई नै जस्ताको त्यस्तै महाधिवेशन प्रतिनिधि चयन गरिएको परिणाम सार्वजनिक गरेका हौँ,’ काठमाडौं पुगिसकेपछि उनले भने । यता, नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, पालिका तथा वडा अधिवेशनहरू उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दाबी गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा, डा. आरजु राणा देउवा र भानु देउवाप्रतिसमेत सम्मान व्यक्त गरेका छन् । देउवाबाट प्राप्त अभिभावकीय भूमिका, मार्गदर्शन र स्नेह आगामी दिनमा पनि निरन्तर प्राप्त हुने विश्वास साउदले व्यक्त गरेका छन् । देउवाको जिल्ला डडेल्धुरामा देउवा पक्ष १५ असोजदेखि अधिवेशन सुरु गर्ने तयारीमा छ । उक्त प्रक्रियाका लागि डडेल्धुरामा कांग्रेस उपसभापति डिल्लीराज जोशीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले पनि ३ असोजदेखि थालिएको अधिवेशन प्रक्रिया विधि र प्रक्रिया मिचेर अघि बढाइएको भन्दै बहिष्कार गरेका छन् । देउवा पक्षको अधिवेशनमा सहभागी हुने–नहुने निर्णय भने मल्लले गरेका छैनन् ।

