धनगढी । भोटेकोशीमा आएको बाढीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाए पछि कैलाली बाट आफन्त खोज्न भन्दै काठमाडौँतिर हिँड्न थालेका छन् ।
कैलालीको जानकी गाउँपालिकाबाट हराएका चार जनाको खोजीमा हरेक परिवारबाट दुई जना र एक जना बरघर गरी नौ जनाको टोली काठमाडौँ हिँडेको छ । आफन्त बेखरको पीडाले छट्पटिएका परिवारका सदस्यले खोज्न निस्कन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको गाउँपालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले भने “एक हप्ताका लागि गाडी खोजेर पठाएका छौँ, खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । उहाँहरू फर्केपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्ने छ ।
टीकापुर नगरपालिका–१, समितिपुरबाट आफन्त खोज्न जानुभएका बरघर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसिरहनुभएको छ । रसुवा जाने बाटो छैन बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौं । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर सुन्ने कोठा फर्केर बस्ने काम भइरहेको छ । दाजु मानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी विखराम चौधरी त्यता जानुभएको हो । टीकापुर नगरपालिका–१, एकतापुरबाट तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाई, धना चौधरी काठमाडौँ पुगेर नुवाकोटतिर गएका रसुवामा सम्पर्कविहीन हुनुभएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले बताइन् ।
टीकापुर नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्ने निर्णय गरेको छ । नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्त सम्पर्कविहीन भएकाले मङ्गलबार टीकापुर नगरपालिका पुगेरै अनुरोध गरेका थिए । टीकापुर नगरपालिकाको समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर, ज्योतिनगरलगायतका क्षेत्रबाट ३४ जनाभन्दा बढी कामदार कर्मचारी सम्पर्कविहीन छन् ।

