सुदूरपश्चिम। कैलाली जिल्ला अदालतले न्याय सम्पादनलाई सहज, सरल र नागरिकमैत्री बनाउन सेवा प्रणालीलाई प्रविधिमैत्री र जनकेन्द्रित बनाउँदै लगेको जनाइएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सेवाग्राहीको भावनाअनुसार न्याय सम्पादनलाई सहज बनाउँदै लगिएको र चालु आर्थिक वर्ष २०८३/८४ मा ‘जनमैत्री अदालत’लाई प्राथमिकतामा राखेर काम गर्ने कार्ययोजना बनाइएको जानकारी दिइएको हो।
अदालतका स्रेस्तेदार चेतराज पन्तले सेवाग्राहीलाई सरल र सहज सूचना उपलब्ध गराउने, सहायता कक्षलाई प्रभावकारी बनाउने तथा ज्येष्ठ नागरिक, महिला, बालबालिका र असहाय सेवाग्राहीलाई प्राथमिकता दिने योजना बनाइएको जानकारी बताए।
सेवाग्राहीले मुद्दाको अवस्थाबारे सहज रूपमा जानकारी पाउनसक्ने व्यवस्था मिलाउनुका साथै अदालतका प्रक्रियाबारे जनचेतना अभिवृद्धि गरिने योजना रहेको पन्तले बताए। त्यसका लागि डिजिटल अभिलेख व्यवस्थापन, अनलाइन सूचना प्रणाली र मुद्दाको अवस्थाबारे सेवाग्राहीलाई सहज जानकारी दिने प्रणालीलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
अदालतले विवाद समाधानमा मेलमिलाप नीतिलाई प्राथमिकतामा राखी सानातिना तथा मेलमिलापबाट समाधान हुनसक्ने विवादलाई प्रभावकारी रूपमा मेलमिलापमा लैजाने र सफल मेलमिलापलाई कार्यान्वयनमा जोड दिने कार्ययोजनामा उल्लेख छ।
यसैगरी, न्यायिक कामकारबाहीमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै सञ्चारमाध्यममार्फत अदालतका कामकारबाही, उपलब्धि, समस्या तथा आगामी प्राथमिकताबारे नागरिकलाई जानकारी गराउने नीति लिइएको छ ।
आगलागीका बाबजुद न्यायसेवा निरन्तर
आर्थिक वर्ष २०८२/८३ चुनौतीपूर्ण वर्षका रूपमा रहे पनि अदालतले न्यायिक सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ। गत भदौ २३–२४ मा भएको आगलागीका कारण भौतिक संरचना, अभिलेख, कार्यालय सञ्चालन र सेवाग्राहीले नियमित सेवा पाउने अवस्थासमेत प्रभावित भएको थियो।
आगलागीका कारण करिब तीन महिनासम्म नियमित सेवा प्रभावित हुँदा मुद्दाको सुनुवाइ तथा फर्छ्योटमा प्रत्यक्ष असर परेको अदालतको प्रतिवेदनमा उल्लेख छ । कठिन परिस्थितिकाबीच पनि अदालतले मुद्दा व्यवस्थापन, फर्छ्योट, पुराना मुद्दालाई प्राथमिकता, सेवाग्राहीलाई सूचना तथा सहायता उपलब्ध गराउनेलगायत कामलाई निरन्तरता दिएको स्रेस्तेदार पन्तले जानकारी दिए।
अदालतमा २०८२/८३ मा अघिल्लो आवदेखि जिम्मेवारी सरेका एक हजार ३०५ र नयाँ दर्ता भएका तीन हजार ३३४ गरी चार हजार ६३९ मुद्दा रहेका थिए। तीमध्ये तीन हजार १०५ मुद्दा फर्छ्योट भएका छन्। अदालतको मुद्दा फर्छ्योट दर ६६.९३ प्रतिशत रहेको छ।
पछिल्ला तीन आवको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा मुद्दा फर्छ्योटमा निरन्तर सुधार भइरहेको देखिएको छ । आव २०८०/८१ मा चार हजार १९४ मुद्दामध्ये दुई हजार ९११ अर्थात् ६९.४३ प्रतिशत र २०८१/८२ मा चार हजार ४५१ मध्ये तीन हजार १४६ अर्थात् ७०.६८ प्रतिशत मुद्दा फर्छ्योट भएका थिए।
गत आवमा देशभरि बढी मुद्दा हेर्नेमा यस अदालतका मुख्य न्यायाधीश भुवनसिंह थापा १०औँ नम्बरमा परेका थिए । स्रेस्तेदार पन्तका अनुसार न्यायाधीश थापाले भदौ १८ देखि कार्यारम्भ गरेकामा वर्षभरि ८१० मुद्दा फर्छ्योट गर्नुभएको थियो । उहाँलाई ७९७ मुद्दा फर्छ्योट गर्नुपर्ने लक्ष्य तोकिएको थियो।

