धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र०८४ को बजेटलाई लिएर विवाद झन् चर्किँदै गएको छ। सत्ता गठबन्धनमै रहेको नेकपा एमाले का ६ जना प्रदेश सभा सदस्यले बजेटमाथि खर्च कटौती प्रस्ताव दर्ता गराएपछि राजनीतिक तरंग थप बढेको हो ।
एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी रहेकै अवस्थामा आफ्नै सरकारविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन वा खर्च कटौती प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
तर, एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले अहिले दुवै विकल्प स्वीकार्य नभएको स्पष्ट पारेका छन्। उनले बरु आवश्यक परे मुख्यमन्त्रीले नै एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गर्न सक्ने बताएका छन्। उनले बजेट फेल भएपछि मुख्यमन्त्री स्वतह हटने दावी गरे । उनले कांग्रेस संग प्रचण्ड बहुमत नभएका कारण मुख्यमन्त्रीले सोच्नु पर्ने जानकारी दिए ।

