धनगढी । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी तीन दिन देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि शनिबारसम्म देशभर सामान्यदेखि मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार असार २५ गते बिहीबार देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी तथा हिमाली भू (भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार राति पनि अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
असार २६ गते शुक्रबार देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान, हिमाली भूभागका केही स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
शुक्रबार राति भने वर्षाको प्रभाव अझ बढ्ने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुनेछ। मधेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
असार २७ गते शनिबार पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
शनिबार राति पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहनेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

