धनगढी । विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएकी कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा भेटिएको छ ।
सोही पालिकाको वडा नम्बर ५ मा रहेको रोरा खोलामा करिब २४ घण्टापछि आज बालिकाको शव भेटिएको हो । वडा नम्बर २ मा रहेको जनचेतना आधारभूत विद्यालय कक्षा नर्सरीमा अध्ययनरत बालिका मङ्गलबार साढे ९ बजेदेखि बेपत्ता भएकी थिइन ।
विद्यालयबाट एक्लै घर फर्कने क्रममा खोलाले उनलाई बगाएको आशङ्का गरेर हिजो दिनभरि खोलामा खोजीकार्य गरिएको थियो।
पानी घटेपछि आजमात्रै बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । अभिभावक भारतमा रहेकी बालिका हजुर आमासँग बस्दै आएकी थिइन् । पानी परेपछि मङ्गलबार कैलालीको सबै खोलानालामा बाढी आएको थियो ।

