धनगढी । १९ असारमा कैलालीको धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गरेको हो ।
छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन् ।
पुरुषतर्फ टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी, भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी मनोनयनमा परेका छन् ।
ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच खेलमा प्रत्यक्ष थ्रोबाट रनआउट गर्दै विश्व कीर्तिमान बनाएका थिए । उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसंग त्रिकोणात्मक शृंखलामा नेपालका लागि सर्वाधिक १७५ रन बनाएका थिए । टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै नेपाललाई १२ वर्षपछि विश्वकपमा जित दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमै इङ्ग्ल्यान्डविरुद्ध ४४ तथा वेस्ट इन्डिजविरुद्ध ५८ रनको उत्कृष्ट इनिङ खेलेका उनी नेपालका टी–२० कप्तान बनेका छन् । नेपाल प्रिमियर लिगमा उनको कप्तानीमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।
भारोत्तोलक अशोक भण्डारीले काठमाडौँ र राजविराजमा सम्पन्न राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदकसँगै दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । वीरगञ्जमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितेका थिए । एकै वर्ष तीन राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान कायम गर्दै उनी मनोनयनमा परेका हुन् ।
क्रिकेटर हेमन्त धामीले प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशका प्रमुख तीव्र गतिका बलरका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै ८ खेलमा २२ विकेट लिएर सर्वाधिक विकेटकर्ता बनेका थिए । बागमतीविरुद्ध ६ ओभरमा १४ रन खर्चेर ७ विकेट लिँदै प्रधानमन्त्री कप इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शनको कीर्तिमान पनि उनले बनाएका थिए । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्दै ५ खेलमा ६ विकेट लिएका धामीले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै यूएईविरुद्धको शृंखलामा दुई विकेट समेत हात पारेका थिए ।
महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मिना देउवा मनोनयनमा परेका छन् । चौधरी पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीकी सदस्य हुन् । उनी भारतविरुद्धको शृंखलामा समेत नेपाली टोलीबाट सहभागी भएकी थिइन् । कबड्डी खेलाडी मानमती बिष्टले चीनमा सम्पन्न छैटौँ बीच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन् । बङ्गलादेशविरुद्धको पाँच खेलको शृंखला नेपालले ३–२ ले जित्दा दुई खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी उनी प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी समेत बनेकी थिइन् । दोस्रो कबड्डी विश्वकपमा नेपाली टोलीको नेतृत्व गर्दै नेपाललाई चौथो स्थानसम्म पुर्याउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
फुटबल खेलाडी मिना देउवाले साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ७ गोल गरी संयुक्त सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी थिइन् । श्रीलंका र भुटानविरुद्ध दुई ह्याट्रिक गरेकी उनले राष्ट्रिय महिला टोलीबाट डेब्यु गर्दै इरानविरुद्ध अन्तर्राष्ट्रिय खेल पनि खेलेकी थिइन् । झापा महिला गोल्डकपको फाइनलमा निर्णायक गोल गरेकी मिना प्रतियोगितामा ७ गोलसहित सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’का लागि यसअघि नै वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, सुदूरपश्चिम आइकन पुरुष र महिलाको मनोनयन सार्वजनिक भइसकेको छ । छनोट समितिका सदस्य नवराज पनेरुका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । ‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका छन् ।
त्यस्तै, ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन् । ‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा परेका छन् ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । यस्तै, भायानेट इन्टरनेट पार्टनरको रुपमा अवार्डमा जोडिएको छ ।

