दार्चुला — भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशको ५ दिने भ्रमणको क्रममा शनिबार दार्चुला पुगेका मन्त्री लम्सालले जिल्लाहरुमा निर्माणको अवस्था र प्रगतिबारे जानकारी लिँदै निर्धारित समयभित्र काम पूरा नगर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन् । उनले समयमै काम नसकेका व्यवसायीका ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।
उनले दार्चुलाको प्रवेशद्वार गोकुलेश्वर बजार, गोकुलेश्वर विमानस्थल र स्थानीय अस्पतालको स्थलगत निरीक्षण गरे । उनले राष्ट्रिय धाम दार्चुलाको प्रसिद्ध मालिकार्जुन मन्दिरको दर्शन तथा अवलोकन गरेका छन् । त्यस अवसरमा स्थानीयले मन्त्री लम्साललाई मालिकार्जुन मन्दिरको विकास र स्थानीय भौतिक पूर्वाधार सम्बन्धमा ११ बुँदे मागपत्र बुझाएका छन् ।
त्यस्तै जिल्ला अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । अस्पताल जस्तो संवेदनशील भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री लम्सालले ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिए । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीमार्फत निर्माण भइरहेको अस्पताल भवनका लागि २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग २६ करोड ४८ लाख २७ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, ठेक्काको निर्धारित समयमा काम सम्पन्न नहुँदा पटकपटक म्याद थपेर आगामी मंसिरसम्म लम्ब्यिाइएको छ । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति जिल्लाका सरोकारवाला निकायहरुले पटक–पटक ध्यानाकर्षण गराउदै आएका छन् ।
टोलीले दार्चुला सदरमुकाम नजिक निर्माण सम्पन्न भएको नेपाल–भारत जोड्ने मोटरेबल पुलको अवलोकन भ्रमणसमेत गरेका थिए । पुल सञ्चालनका विषयमा विशेष चासो राख्दै उनले प्रक्रिया चाँडो टुंग्याएर जनतालाई सेवा दिन निर्देशन दिएका छन् । सोही क्रममा महाकाली लोकमार्गको अनुगमन पनि गरेका छन् । तर सदरमुकाम माथिल्लो क्षेत्रका सडकको अवस्थामा मन्त्रीको उपस्थिति तथा निर्माण कार्यमा राज्यको विशेष चासो नभएको ब्यास र दुहु क्षेत्रका नागरिकले गुनासो गरेका छन् । तिंकर सडक निर्माणमा भइरहेको ढिलाई र न्यून बजेट विनियोजनको बारेमा स्थानीयले मन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरे पनि समय नपाएको ब्यास गाउँपालिका–१ वडाध्यक्ष अशोक बोहराले बताए ।
खलंगामा स्थानीय बासिन्दा तथा विभिन्न प्रतिनिधिहरूले महाकाली नदी कटान नियन्त्रण, खलंगा–काटै–दल्लेख सडक र तिंकर सडक कालोपत्रे जस्ता विषय समेटेर मन्त्रीलाई मागपत्र बुझाएका छन् । मागपत्र बुझ्दै मन्त्री लम्सालले एक महिनामा परिणाम आउने गरी काम गर्ने आश्वासन दिएका छन् ।

