धनगढी । कैलालीमा विद्यालय वरिपरि सञ्चालित होटेल व्यवसायमा निर्वाध रूपमा सुर्ती, चुरोट र गुट्खाको बिक्री भइरहेको छ । सुर्तीजन्य पदार्थको विक्रेताले बिक्रीको अनुमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि यहाँ विद्यालयलगायतका सार्वजनिकस्थल वरपरका किराना पसल, फलफूल पसल, घुम्ती पसलले सुर्ती, चुरोट बिक्री गरेर प्रयोगका लागि सजिलो बनाइदिएका छन् ।
जिल्ला अनुगमन समितिले कैलालीका विभिन्न पालिकामा गरेको नमुना अनुगमनमा जिल्लाका गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिकालगायतका पालिकामा विद्यालयलगायतका सार्वजनिकस्थल वरपर निर्वाध रूपमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण भइरहेको र निसेधित क्षेत्र तोक्ने अभ्यास हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवाली बताउनुहुन्छ ।
टीकापुरका गणेशबाबा बोर्डिङ, आरएमई स्कुललगायतका क्षेत्रमा विद्यालयको गेटनजिकका पसलमा अनुगमन गर्दा बिक्रीका लागि खुला रूपमा राखिएका सुर्तीजन्य पदार्थ भेटिएका छन् । टीकापुर नगरपालिकाको बजार अनुगमन समितिले त्यस क्षेत्रमा यसअघि पनि अनुगमन गरी सुर्तीजन्य पदार्थको कारोबार गर्न पाउने व्यवस्थाबारे जानकारी दिँदै बिक्री नगर्न निर्देशन दिएको भए पनि कार्यान्वयन भएको छैन ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा ११ ले विद्यालय, स्वास्थ्य संस्था सार्वजनिक स्थलको एक सय मिटर वरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नहुने व्यवस्था गरेको छ । बालबालिकामाथि सुर्तीजन्य पदार्थको प्रभाव नपरोस् भन्ने उद्देश्यले सरकारले कानुन बनाएर नियन्त्रण गर्न खोजे पनि व्यापारीले अटेर गर्ने गरेको पाइएको छ ।
अनुगमनमा सहभागी टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले भन्नुभयो, “विद्यालय वरपर खुलेआम बिक्रीवितरण भइरहेको छ । विद्यालयका शिक्षक कर्मचारीले सुर्ती गुट्खा खाने गरेको ती विद्यालयका परिसरको अवलोकन गर्दा फेला परेका गुटखाका खोलबाट प्रस्ट हुन्छ ।” शाखाका प्रमुख रावलका अनुसार “सार्वजनिक स्थलमा धूमपान, मदिरापान गर्न पाइँदैन, विद्यालय वरपर यस्ता सामग्री बेचेमा १० हजार रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था भए पनि यसलाई अन्तिम पटक मानि चेतावनी दिइएको छ ।”

