धनगढी । नेपाली कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । पार्टी र संसदीय दलको विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्यद्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो । पूर्वमन्त्रीसमेत रहेका दुवै जना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो । गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ । नेकपाको संसदीय दलको बैठकमा नियमित अनुपस्थित भएपछि उहाँसँग ४८ घण्टाभित्र आफैँ उपस्थित भई चित्तबुझ्दो लिखित जवाफको मागसहित स्पष्टीकरण सोधिएको छ । दलका नेता खगराज भट्टले स्पष्टीकरणका लागि दुवै प्रदेश सभा सदस्यलाई पत्र पठाएका छन् ।
दुवै प्रदेश सभा सदस्यलाई पठाइएको स्पष्टीकरणपत्रमा प्रदेश सभा संसदीय दलको समायोजन प्रक्रियामा असहयोग गरेको, औपचारिक बैठकको जानकारी हुँदाहुँदै पनि निरन्तर अनुपस्थित रहने गरेको उल्लेख गरिएको छ । यी कार्य दलको विधान र अनुशासनविपरीत रहेको निष्कर्षसहित नेकपा संसदीय दलले दुवैलाई चेतावनी दिएको छ ।
यसै गरी प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा पार्टी विधानविपरीत पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको तथा विपक्षी दल र उम्मेदवारका पक्षमा प्रचारप्रसारमा संलग्न भएको आरोप लगाइएको छ ।
दुवै प्रदेश सभा सदस्यबाट तथ्यपरक, स्पष्ट र चित्तबुझ्दो आफैँ उपस्थित भई लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ । समयमै स्पष्टीकरण नआएमा पार्टी विधान अनुसार थप कारबाहीको चेतावनी पनि दिइएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले नेकपाका पाँच जना प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा दुई जना प्रदेश सभा सदस्यलाई नेकपाले स्पष्टीकरण सोधेको छ ।
गत हप्ता नेकपा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा धनगढीको एक होटेलमा नेकपा संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा प्रचण्डले पार्टी र संसदीय दलको विधि विधानविपरीत गतिविधि गर्ने, संसदीय दललाई वास्ता नगर्ने प्रदेश सभा सदस्यविरुद्ध कडा कदम अगाडि बढाउने चेतावनी दिनुभएको थियो ।


