धनगढी । बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।
आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घाइते भएकामध्ये चार जनालाई हेलिकप्टरमार्फत् कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
उनका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकप्टरमार्फत् घाइतेको उद्धार गरिएको हो ।
आक्रमणमा परी घाइते भएका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
यसअघि यही जेठ ३ गते उक्त पनि दुवै पक्षबीच विवाद भएको थियो ।


