धनगढी । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण कैलालीको जनजीवन कष्टकर बनेको छ। तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ।
अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ। गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या समेत बढ्दै गएको छ।
आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।


