धनगढी: ग्रासरुट स्तरबाट क्रिकेट खेलको विकास गर्ने उद्देश्यसहित धनगढीमा विद्यालयस्तरीय क्रिकेट गतिविधि विस्तार हुन थालेको छ । पछिल्लो समय नेपालभर क्रिकेटप्रति युवापुस्ताको आकर्षण तीव्र रूपमा बढिरहेका बेला धनगढीको राइजिङ स्टार स्कुलले विद्यार्थीबीच नियमित आन्तरिक क्रिकेट प्रतियोगिता सञ्चालन गर्न थालेको हो ।
विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रत्येक महिना विद्यार्थीहरूबीच क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना अघि बढाएको जनाएको छ । विद्यालय उमेरमै खेलाडीको क्षमता पहिचान गर्दै उनीहरूलाई खेलतर्फ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो प्रतियोगिता सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र शाहीले बताए ।
नेपालमा क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाइरहेका बेला यसको प्रभाव विद्यालय तहसम्म स्पष्ट रूपमा देखिन थालेको छ । अहिले धेरै किशोर–किशोरीहरू क्रिकेटलाई केवल मनोरञ्जनको खेलका रूपमा मात्र नभई भविष्य निर्माणको माध्यमका रूपमा पनि हेर्न थालेका छन् । यही कारण पछिल्लो समय विद्यालयस्तरमा क्रिकेट सिक्ने र खेल्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । बिभिन्न स्कुल छोडेर यहाँ आउने बिद्यार्थीको संख्या पनि बढ्दै गएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित राइजिङ स्टार स्कुलमा अध्ययनरत विद्यार्थीहरू अहिले पढाइसँगै खेलकुद गतिविधिमा समेत सक्रिय देखिएका छन् । विद्यालय परिसरमा नियमित अभ्यास र मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत विद्यार्थीहरूमा अनुशासन, सहकार्य भावना र नेतृत्व क्षमता विकास भइरहेको शिक्षकहरूको भनाइ छ ।
विद्यालयका अनुसार विद्यार्थीहरूबीच हुने आन्तरिक प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी बलियो टिम निर्माण गरिनेछ । आगामी दिनमा अन्य विद्यालयसँग समेत प्रतिस्पर्धा गराउने तयारी रहेको विद्यालयले जनाएको छ । क्रिकेटप्रति बढ्दो आकर्षणलाई सकारात्मक दिशामा लैजान खेलकुदलाई विद्यालय शिक्षासँग जोडेर अघि बढाइएको विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र शाहीको भनाई छ ।
विद्यालयका शिक्षकहरूका अनुसार खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पढाइसँगै खेल गतिविधिलाई पनि प्राथमिकता दिइएको हो । नियमित प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै उनीहरूको प्रतिभा पहिचान गर्न सहज हुने विश्वास गरिएको छ ।
स्थानीय अभिभावकहरूले पनि विद्यालयले थालेको यस्तो प्रयासलाई सकारात्मक रूपमा लिएका छन् । मोबाइल र सामाजिक सञ्जालमा बढी समय बिताउने बालबालिकालाई खेल मैदानतर्फ आकर्षित गर्नु राम्रो कदम भएको उनीहरूको भनाइ छ । धनगढीमा विद्यालयस्तरबाट सुरु गरिएको क्रिकेट प्रतियोगिताले ग्रासरुट क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । विद्यार्थीहरूलाई सानैदेखि खेलकुदतर्फ प्रेरित गर्दै अनुशासित र स्वस्थ जीवनशैली निर्माण गर्न यस्ता गतिविधिले सकारात्मक भूमिका खेल्ने देखिएको छ । विद्यालयस्तरबाट प्रतिभा पहिचान र प्रोत्साहन गर्न सकिए भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


