धनगढी : सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयको चोरी भएको सरकारी स्कारपियो गाडी प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ साल भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ बाट ४–५ जनाको समूहले जेन्जी आन्दोलनको मौका छोपेर बा.२ झ २८५९ नम्बरको सरकारी स्कारपियो चोरी गरी लगेका थिए।
प्रहरीले खोजतलासका क्रममा असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगबाट गाडी स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा अर्जुन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

