धनगढी: गेटा अस्पताल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेसँगै गेटा अस्पताल अब विश्वविद्यालयको शिक्षण अस्पताल बनेको हो ।
२०८० कार्तिक १ गते देखि गेटामा स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गर्ने गरी तत्कालीन गेटा मेडिकल कलेज पूर्वाधार समितिले निर्माण गरेका अस्पतालका संरचना गेटा अस्पताललाई हस्तान्तरण गरेर गेटामा ५० शय्याको गेटा अस्पताल सञ्चालनमा आएको थियो । गेटामा २०७१ सालमा गेटा मेडिकल कलेज पूर्वाधार समिति गठन गरेर भौतिक संरचना निर्माण सुरु गरिएको थियो । पछि समिति खारेज भए पनि अस्पताल र विश्वविद्यालय छुट्टा छुटै सञ्चालनमा रहेका थिए ।
गेटामा सरकारले ६ सय शय्याको अस्पताल सहित चिकित्सा शिक्षा अध्यापन गर्ने उद्देश्यले करिब ७ अर्ब खर्चिएर भौतिक संरचना निर्माण गरेको छ । जसका लागि अस्पतालका ओपिडी, इमर्जेन्सी भवन, विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवन, होस्टेल, आवास लगायतका भवन निर्माण गरिएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सँगै अब गेटामा निर्माण गरिएका सबै संरचना विश्वविद्यालयको मातहतमा आए पनि अझै सबै संरचनाको प्रयोगमा आउने सुनिश्चित भने हुन सकेको छैन । हाल ६०० शय्याको अस्पतालको भवनमा ५० शय्याको अस्पतालका मात्रै आंशिक रूपमा प्रयोगमा आएको छ भने विश्वविद्यालयको प्रशासकीय बाहेकका भवन प्रयोगविहीन अवस्थामा छन् ।
विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिए पनि अस्पताल भवन पूर्ण क्षमतामा सञ्चालनको भने सुनिश्चितता गरेको छैन ।

