धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई छलफलमा डाकेका छन् । असार १ गते कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे सत्ता गठबन्धनमै रहेको एमालेले तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । सरकारमै रहेर पनि सरकारले ल्याएको बजेटबारे विवाद पैदा गरेको भन्ने विषयमा कुरा गर्न मुख्यमन्त्री शाहले आज सामूहिक रूपमा मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको स्रोतले बताएको छ ।
कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा एमालेका भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका मन्त्री छन् । त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री पनि एमालेकै हुन् ।
सरकारमा सहभागी दलबाटै बजेट फेल गर्ने गरी खर्च कटौतीको प्रस्ताव दर्ता गरे पनि मुख्यमन्त्रीले प्रदेश र केन्द्रमा छलफल गरिरहेका छन् । यसैबीच एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे राय लिने र त्यसपछि के गर्ने भन्नेबारे केन्द्रसँग छलफल गर्ने तयारी गरेका छन् ।
एमालेले बजेट फेल गर्ने बताएपछि मुख्यमन्त्री शाह सोमबार केन्द्रसँग छलफल गर्न काठमाडौं गएका थिए । उनले केन्द्रमा पार्टीका शीर्ष नेताहरूलाई सुदूरपश्चिमको अवस्था र एमालेको अडानबारे जानकारी दिएका थिए । कांग्रेस सभापतिसहितका पदाधिकारीहरूले एमालेसँग छलफल गरेर अघि बढ्न सुझाव दिएका थिए। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न खोज्दा पनि भेट नभएपछि अहिले कांग्रेस(एमालेको गठबन्धन धरमराएको देखिन्छ।
कर्णाली प्रदेशमा एमालेको नेतृत्वमा रहेको सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएलगत्तै कांग्रेसका मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बोलाएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

