धनगढी: धनगढी हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्रसिंह रावतले जितेका छन् । ‘अब धनगढी दौडिन्छ’ नारासहित आज भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै उनी विजेता बनेका हुन् । उनले उपाधिसँगै ७७ हजार ७७७ पुरस्कारसमेत प्राप्त गरे । रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए । २०७९ र २०८० सालमा दोस्रो भएका उनी २०८१ र २०८२ मा भने तेस्रो भएका हुन् ।
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र आर्मीकै अक्कल पाल तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठले ५५ हजार ५५५ र तेस्रो भएका पालले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, पाँच किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि भएको छ । प्रतियोगिताका संयोजक दिपेश बोहराका अनुसार पाँच किलोमिटर कर्पोरेटमा कुशलप्रसाद जोशी प्रथम, प्रदीप खत्री दोस्रो र तेजबहादुर चन्द तेस्रो भएका छन् ।
महिलातर्फ देवकीकुमारी धामी, शिला चौधरी र अपसरा बम क्रमस पहिलो, दोस्रो र तेस्रो भइन् । धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाका अनुसार दुवैतर्फका विजेताले सात हजार ७७७, दोस्रो हुनेले पाँच हजार ५५५ र तेस्रो हुनेले चार हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।


