धनगढी — सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको छ। प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो। बैठक सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो। परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र डडेल्धुरा जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो।
नियुक्त भएका अध्यक्षहरूमा कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐर रहेका छन्। राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्तिमा बैतडीका भुपेन चन्द र बाजुराकी कोपिलाकुमारी सिंह एमालेको कोटाबाट चयन भएका छन् भने बाँकी पाँच जिल्लाका अध्यक्ष कांग्रेस को सिफारिसमा नियुक्त गरिएको जनाइएको छ।
नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ। यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेका छन्। प्रदेशमा खेलकुद क्षेत्रलाई सुदृढ बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, राजनीतिक भागबण्डाको प्रभावबारे पनि विभिन्न कोणबाट बहस सुरु भएको छ।


