धनगढी । सुदूरपश्चिममा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । निर्वाचन आयोगले सुदूरपश्चिम सहित देशका ३ प्रदेशमा मतपत्र ढुवानीको काम सम्पन्न गरेको हो ।
शुक्रबार नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले सुदूरपश्चिम सहित कर्णाली र कोशी प्रदेशमा ढुवानीको काम सम्पन्न भएको जनाएको छ । बाँकी रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।
निर्वाचन आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरु सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाई गरेको छ ।


