धनगढी । बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन ।
पहिला यहाँ नजिक टेलिकमको टावर निर्माण नहुँदा यहाँका स्थानीयलाई फोन गर्दा नेटवर्कको समस्या हुने गथ्र्यो । त्यही समस्या समाधान गर्न केही वर्षअघि टेलिकमले बानेगाउँको माथि डाँडामा टावर निर्माण गरेको हो । लामो समयदेखि नेटवर्कको समस्या भोग्दै गरेका यहाँका स्थानीय गाउँमै टावर निर्माण हुँदा राम्रोसँग फोन गर्न पाउने आसमा रहेका थिए । उनीहरूको त्यो आस भने अहिले आसमै सीमित बनेको छ । पहिला यहाँ टावर नहुँदा यहाँका स्थानीयले छिमेकी पालिका त्रिवेणी नगरपालिका–४ को तोलीमा राखेको नेपाल टेलिकमको टावरको भरमा फोनमा कुरा गर्ने गरेका थिए ।
अहिले गाउँमै टावर राखे पनि यहाँका स्थानीयलाई समस्या हुने गरेको छ । गाउँमै राखेको टेलिकमको टावरले नेटवर्कमा समस्या हुन थालेपछि अहिले यहाँका स्थानीय निराश बनेका छन् । गाउँमा टेलिकमको टावर थिएन फोन राम्रोसँग लाग्थ्यो तर अहिले गाउँमा टावर निर्माण भएपछि झन् नेटवर्कमा समस्या हुने गरेको बुढीगङ्गा नगरपालिकाका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालले बताए ।

