डडेल्धुरा। डडेल्धुरामा शुक्रबार बिहान नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जना सैनिक घाइते भएका छन्। डडेल्धुराको केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको ट्रक दुर्घटना भएको हो। ट्रकमा सात जना नेपाली सेना सवार थिए। प्रहरीका अनुसार कोहलपुरबाट जिन्सी सामान बाकेर डोटीको दिपायल जान लागेको ट्रक ब्रेकफेल भई दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।
डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्रक सडकको दाहिनेपट्टि पल्टिँदा ट्रकमा सवार चालक देवबहादुर चौधरीलगायत ७ जना सेना घाइते भएको प्रहरी चौकी स्याउलेले जनाएको छ।दुर्घटनाको खबर प्राप्त हुनासाथ सो प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ६ जना प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ।
घाइतेमध्ये ३ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ।प्रहरीका अनुसार घाइते ७ जनामध्ये सहसेनानी रामशरण बोगटीको बायाँ हात र बायाँ खुट्टा, प्युठ अनिल बुचाको बायाँ हात, कम्मर र टाउको सिपाही बुद्धी खत्रीको दाहिने हात, टाउको र दाहिने खुट्टामा चोट लागेको छ र उनीहरू तीनको अवस्था मध्यम छ।यस्तै चालक हुद्दा देवबहादुर चौधरीको हात, हुद्दा सरोज नेपालीको दाहिने हात, अमल्दार नरेन्द्र सिंहको दुवै खुट्टा, कम्मर र टाउको, अमल्दार पिताम्बर कुँवरको कम्मरमा चोट लागेको छ र उनीहरू चारको अवस्था सामान्य छ।दुर्घटनामा परेको ट्रकको दाहिनेपट्टि सामान्य क्षति पुगेको छ। घटनास्थल प्रहरी चौकी स्याउलेबाट अन्दाजी ९ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।