कैलाली। कैलालीमा डुबानको समस्याका कारण अढाई सय बिघा जमिन बाँझै रहेको पाइएको छ।कैलालीको भजनी र टीकापुर नगरपालिका लगायतका क्षेत्रमा बर्षेनीहुने डुबान समस्याका कारण अढाई सय बिघाभन्दा बढी जमिन बाँझै रहने गरेको नगरपालिकाहरुले जनाएका छन्। भजनी नगरपालिकाको कृषि शाखाले वडा नम्बर ८ र ३ मा किसानले जमिन बाँझो राख्ने समस्या रहेको जानकारी दिएको छ।
कृषि शाखाका प्राविधिक सहायक कमलप्रसाद चौधरीले दुवै वडाका गरेर झन्डै अढाई/तीन सय विघा जमिन बर्षातमा बाँझो रहने गरेको बताए। उनले भने, खुला जमिन एक याम बाँझो रहन्छ, “अर्को याममा गहुँ, तोरी, मसुरो बाली लगाउने गरेका छन्। डुबान समस्याका कारण भजनी र टीकापुर नगरपालिकाका कैयौँ किसानले सयौँ बिघा जमिनमा खेतीपाती गर्न सकेका छैनन्। वर्षात् सुरु हुनेबित्तिक्कै खेत तालजस्तो बन्ने गरेकाले उनीहरूले कैयौँ वर्षदेखि एक सिजन जमिन बाँझो राख्दै आएका छन्।
यता भजनी नगरपालिका–८, सुनाफाँटाका किसान कृष्ण चौधरीले बर्खे धानबाली नलगाएको डेढ दशक भएको बताए ।डुबान समस्याका कारण २०६४ सालदेखि चौधरीले १६ बिघा जमिनमा धान खेती नगरेको र एक यामको खेती बाँझै रहने गरेको बताए।त्यस्तै टीकापुर नगरपालिका–७, परतीपुरका राजकुमार चौधरीको पनि भएको एक बिघा जमिन बाँझै राखेका छन् । “पानी जम्ने गरेका कारणले वर्षायाममा खेत खाली छ“हिउँदमा मात्रै खेतमा गहुँ खेती गर्छन्।भजनी नगरपालिका–८, सुनाफाँटाका कृष्णलाल धमलाले वर्षायाममा केही नहुने गरेकाले बाध्य भएर खेत खाली छोड्नु परेको भने । उनले भजनीका कतिपय किसानले गुजाराका लागि चैते धान खेती गर्ने गरेका छन् तर चैते धान खेती नगरेका किसानले वर्षा यामभरि नै खेत खाली छोड्ने गरेका छन्।
आफूले पनि हरेक वर्ष एक याम चार बिघा जमिन बाँझो छोड्दै आएको धमलाले बताए। यो वर्ष पनि चार बिघा जमिनमा केही पनि नलगाएको उनले जानकारी दिए। भजनी नगरपालिकाको सुनाफाँटा क्षेत्र सबैभन्दा भिरालो (खल्ला)जमिन क्षेत्र भएको स्थानियले बताएका छन् । पथरैया र काँढा नदीको बीचमा रहेको ठूलो सो फाँटमा कतै पनि वर्षायाममा धान देखिँदैन। सो फाँट प्रायः पानीले भरिएको हुन्छ। बाढी आएको बेला जता हे¥यो उतै, समुद्र जस्तै पानीपानी देखिने गगरेको छ । पानी घटेको बेला घाँसैघाँस हुने गर्छ।त्यस्तै भजनी नगरपालिकाकै–३ मा रहेको मन्त्रीफाँटा र टीकापुर नगरपालिकास्थित पथरैया नदी किनार आसपासका कैयौँ किसानले पनि आफ्नो जमिनमा खेतीपाती गर्दैनन्।
ठूलो लगानी लगाएर रोपाइँ गर्दा बाढी, डुबान समस्याका कारण नोक्सान हुने कारणले किसानले खेत बाँझै छोड्न थालेको स्थानीयले बताएका छन् । २०६४ सालको बाढीपछि डुबान समस्या बढेको स्थानियको भनाई छ । त्यसपछि किसानका सयौँ बिघा जमिन खाली रहँदै आएको छ।खेती गरेपनी लगानी डुब्ने गरेका कारणले किसानले खेत बाँझो छोड्न थालेका हुन्। एक सिजन खाली छोडेका कतिपय किसानले हिउँदे बाली भने लगाउने गरेका छन् तर उत्पादन घट्ने गरेको किसानहरु बताउँछन्। यस्तै खेतमा जमेको पानी हिउँद्का बेला ढिलो गरी सुक्दा हिउँदे बाली छर्न ढिलो हुने गरेको छ। डुबान समस्याका कारण आफ्नो जमिनमा खेती गर्न नपाएका भजनीका कतिपय किसानले गुजाराका लागि जमिनको माटो बिक्री गर्दै आएका छन्।गोरखापत्र अनलाइनबाट