धनगढी । नेकपा (एमाले) को एघारौँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश सदस्य प्रशान्त थापा केन्द्रीय कोटाबाट महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन्। पार्टी केन्द्रले तोकेको ६५ सदस्यीय मनोनित कोटामध्ये थापा चयन भएका हुन्। पछिल्लो समय पार्टीभित्र देखिएको जेन्जी विद्रोहको खुलेर विरोध गर्दै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खरो रूपमा उत्रिएका थापा नेतृत्वको विश्वास जित्न सफल भएका छन्। पार्टीको आन्तरिक संघर्षका बेला ओलीको संरक्षण र संगठन मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरेका कारण उनी अध्यक्ष ओलीका विश्वासिला पात्रको रूपमा चिनिँदै आएका छन्।
थापा सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टी अनुशासन कायम राख्न सक्रिय रहँदै आएका नेता हुन्। प्रदेशस्तरमा पार्टी गतिविधिलाई प्रभावकारी बनाउन उनले खेलेको भूमिकालाई केन्द्रले समेत सकारात्मक रूपमा मूल्यांकन गरेको बताइन्छ। महाधिवेशन प्रतिनिधिमा मनोनयनसँगै प्रशान्त थापा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिन थालेका छन्। प्रदेशभित्र राम्रो पकड, नेतृत्वसँगको नजिकको सम्बन्ध र पछिल्ला राजनीतिक घटनाक्रममा स्पष्ट धारणा राख्दै आएको कारण उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा लिइएको छ।
पार्टी स्रोतका अनुसार आगामी महाधिवेशनमा संगठन सुदृढीकरण, नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशा तय गर्ने सन्दर्भमा थापाको भूमिकालाई महत्वपूर्ण मानिएको छ। मनोनयनपछि थापाले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै एमालेको एकता, अनुशासन र सुदृढ संगठन निर्माणमा आफू प्रतिबद्ध रहने बताएका छन्।


