धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सोमबारदेखि सुरु भएको प्रथम प्रदेश युवा महोत्सव आज सम्पन्न भएको छ। धनगढीमा ३ दिनसम्म सञ्चालन भएको युवा महोत्सव आज (बुधबार) सम्पन्न भएको हो। महोत्सवको ‘प्रदेश युवा प्रतिभा सम्मान तथा पुरस्कार’ बाट बिभिन्न ब्यक्ती सम्मानित भएका छन्।
एक कार्यक्रमकाबीच सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बिभिन्न ब्यक्तीलाई दोसल्ला ओढाएर र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। यस्तै सुदुरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको युवा प्रतिभा सम्मानबाट ९ जना सम्मानित भएका छन्। प्रदेश युवा प्रतिभा सम्मान २०७८ बाट यो वर्ष दानबहादुर सुनार, जनकराज कापडी रसिक, कल्पना भट्ट, केपी खनाल, रवि वड, गजेन्द्र शाही, विकास न्यौपाने, नकुल बम र धर्मराज जोशी सम्मानित भएको प्रदेश युवा परिषदले बताएको छ।
सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा सुरु भएको महोत्सव ३ दिनसम्म सञ्चालन भएको थियो। युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशभरका युवाहरुको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको जानकारी दिए। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकारहरुको समेत उपस्थिती रहनुका साथै महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्राथमिकतामा राखेको कुँवरले बताए। महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिका लगायका विषयमा प्रशिक्षण समेत दिइएको थियो। महोत्सवमा करिब ३०० जना युवाहरुको सहभागिता रहेको थियो।