धनगढी। नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुषालले आफ्नो पार्टीले एमालेसँग कुनै पनि किसिमको राजनीतिक एकता तथा चुनावी तालमेल वा सहकार्य नहुने बताएका छन् ।
मंगलबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुषालले सो कुरा बताएका हुन् । उनले एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चिएर संसद विघटन गरी नेपाली जनतालाई अँध्यारोमा धकेलेको, तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको हुनाले आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताए ।
नेता भुषालले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको भन्दै आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘अहिले हाम्रो अग्निपरीक्षा शुरु भइरहेको छ । हामी दुईवटा अग्निपरीक्षामा सफल भइसकेका छौँ । केपी ओलीलाई पराजित गरेर कलम चिह्नले जितिसकेका छौँ । हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन् ।’
दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधि सभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको महासचिव भुषालले कटाक्ष गरे । ‘ओलीले हामीलाई पार्टीबाट निकालेपछि विद्रोहको झण्डा लिएर हिँड्यौँ’ उनले भने, ‘ओलीमा दक्षिणपन्थी धार देखियो । क्रान्तिकारी धार छाडे, भ्रष्टाचारमा डुबे, गफमा मात्रै सीमित छन् ।’
उनले अगाडि भने, ‘त्यो कुरा जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन ।’ साथै उनले गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा मात्र नभइ देशैभरि गठबन्धन गरिनु पर्ने धारणा अघि सारेको पनि बताए ।महासचिव भुषालले माओवादीले र एकीकृत समाजवादीले गठबन्धनलाई नै स्थानीय निकायको निर्वाचनमा तालमेललाई प्राथमिकतामा राखेको भए पनि कांग्रेसमा चुनावी गठबन्धनबारे स्पष्ट रुपमा दुई धार रहेकाले गठबन्धनबारे छलफल नभएको बताए । तर कांग्रेसको संस्थापन पक्ष भने गठबन्धन गर्ने पक्षमा रहेको भुषालले दाबी गरे ।


