धनगढीः दार्चुलास्थित महाकाली नदीमा निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको ११० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका हुन्।दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्णआर्थिक सहयोगमा निर्माण गरिएको हो। भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो।
दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि पुल उद्धाटन भने गरिएको थिएन। पुल सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी दार्चुला, बैतडी र बझाङका नागरिकलाई लामो समयदेखि झेल्दै आएको जोखिमपूर्ण सीमा आवागमनको बाध्यता हटाउन पुलले सहयोग पुग्ने विश्वास गरिएको छ।
पुल सञ्चालनका लागि नेपालतर्फ प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय राख्ने अस्थायी संरचना निर्माण भइरहेको छ।


