धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई नगद पुरस्कारबाट पुरस्कृत गरेको छ। आफूलाई तोकिएको जिम्मेवारी इमानदारी, बफादारी र कर्तव्यनिष्ठताका साथ प्रशंसनीय एवं अनुकरणीय ढङ्गले निर्वाह गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महरा र इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी रहेका छन्। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम प्राप्त अधिकार प्रयोग गरी कैलाली प्रहरीका प्रमुख एसपी नरेन्द्र चन्दले उनीहरूलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरेका हुन्।


