धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पुँजीगत बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि राजनीतिक तहबाट पहल हुनुपर्ने बताएका छन्।
चालु खर्चतर्फको बजेट कार्यान्वयन भए पनि पुँजीगत खर्चतर्फ अपेक्षित प्रगति हुन नसकेको भन्दै उनले नीतिगत तथा प्रक्रियागत विषय मिलाएर विकास बजेट कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।
पुँजीगत बजेट कार्यान्वयनका लागि केही विषय मिलाउनुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व तहमा छलफल आवश्यक रहेको उनको भनाइ छ। माथिल्लो तहका नेताहरूबाट पहल हुने अपेक्षा गरिए पनि तत्काल पूरक बजेटभन्दा पनि चालु बजेट कार्यान्वयनलाई अघि बढाउनुपर्ने अवस्था देखिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्राथमिकता दिन थालेको छ। पूरक बजेट ल्याउने प्रतिबद्धता जनाए पनि राजनीतिक दलहरूबिच सहमति जुट्न नसकेपछि सरकार अहिले पारित बजेटकै आधारमा अघि बढ्ने तयारीमा लागेको हो।
प्रदेश सरकारले बजेट अध्ययनका लागि संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने तयारी गरेको थियो। समिति गठनमै राजनीतिक विवाद देखिएपछि पूरक बजेटको प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसपछि सरकारले तत्काल कार्यान्वयन गर्न सकिने आयोजना अघि बढाउने र कार्यान्वयन हुन नसक्ने आयोजनाको बजेट रकमान्तर गर्ने विकल्पमा छलफल थालेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले संसदीय समिति गठनमा सहमति जुट्न नसकेपछि सरकारले चालु बजेट कार्यान्वयनलाई अघि बढाएको बताए। पूरक बजेट ल्याउने विषय अब सभामुखको भूमिकामा भर पर्ने उनको भनाइ छ।
‘पूरक बजेट ल्याउने विषयमा अब सभामुखले के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ। अध्ययन समिति गठन गर्ने काम सरकारले गर्ने होइन, सभामुखले संसदीय समिति गठन गर्ने हो। प्रमुख प्रतिपक्षी दल समितिमा बस्न नमानेको भन्ने सुनिएको छ,’ उनले भने।
प्रदेशसभाबाट गत असोज २८ गते ३७ अर्ब ७० करोड रुपैयाँको बजेट पारित भएको थियो। बजेट पारित गर्नुअघि नै मन्त्रिपरिषद्बाट पूरक बजेट ल्याउने निर्णय गराएर सत्तारूढ दलका सांसदलाई सहमत गराइएको थियो। बजेट पारित भएको डेढ महिना बितिसक्दा पनि पूरक बजेट ल्याउने प्रक्रिया अघि बढ्न सकेको छैन। सत्तारूढ नेकपा र नेकपा एमालेभित्रको मतभेद तथा प्रमुख प्रतिपक्षी कांग्रेसको असहमतिले यो प्रक्रिया प्रभावित भएको हो।
बजेटबारे अध्ययन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति भएको थियो। समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो। त्यसका लागि कात्तिक २१ र २२ गते प्रदेशसभा बैठकसमेत बोलाइएको थियो। तर, कांग्रेसको विरोध र नेकपाभित्रको विवादका कारण बैठकमा समिति गठनको विषयले प्रवेश नै पाएन।
सभामुख भीमबहादुर भण्डारीले समिति गठनमा प्रमुख प्रतिपक्षी कांग्रेसभन्दा पनि सत्तारूढ नेकपाभित्रकै विवाद मुख्य बाधक बनेको बताएका थिए। नेकपाभित्र सहमति जुटे कांग्रेसलाई समेत समितिमा सहभागी गराउन सकिने उनको भनाइ थियो। उनले समिति गठनका विषयमा मङ्सिर ७ र ८ गते छलफल गर्ने तयारी रहेको जानकारी दिएका थिए।
समिति गठन र प्रतिवेदन तयार पार्न समय लाग्ने भएकाले सरकारले तत्कालका लागि चालु बजेट कार्यान्वयनलाई अघि बढाएको सभामुख भण्डारीले बताए। उनका अनुसार कार्यान्वयन गर्न सकिने आयोजनालाई प्राथमिकता दिइनेछ भने कार्यान्वयन हुन नसक्ने आयोजनाबाट मात्रै रकमान्तरका लागि बजेट बाँकी राखिनेछ।
पूरक बजेटको प्रक्रिया रोकिएपछि आर्थिक मामिला मन्त्रालयले पनि बजेट खर्च बढाउने तयारी थालेको छ। मन्त्रालयले सबै विषयगत मन्त्रालयका सचिव तथा आर्थिक मामिला मन्त्रालयका अधिकारीहरूसँग अन्तरक्रिया गर्दै बजेट खर्चमा देखिएका समस्या समाधान र विकास बजेट कार्यान्वयनलाई गति दिने विषयमा छलफल अघि बढाएको छ।


