बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका –४ ठुलीचौर बस्ने चेतराज केसीको बसको ठक्करबाट मृत्यु भएको छ । गत आइतबार बेलुकी नेपालदेखि भारत जानेक्रममा भारतको बरेलीमा उहाँ चढेको जिपले बसमा ठोकिएपछि केसीको घटनास्थलमै मृत्यु भएको हो । बसको ठक्करबाट केसीकी श्रीमती समेत गम्भीर घाइते हुनु भएको छ । मृतक केसीका दुई छोरी छन् । ती दुई छोरी धनगढीमा पढ्दै छन् ।
केही दिनअघि दिपावली विदामा उहाँकी दुई छोरी भारतमा आफ्नो बुवा आमालाई भेटघाट गर्न गएका थिए । अहिले विद्यालय सञ्चालन भएसँगै केसीको परिवारसहित ती दुई छोरीलाई पुगाउन धनगढी आउनुभएको थियो । गत आइतबार छोरी विद्यालयमा छोडेर उनीहरुको पढाइको जोहो गर्नका लागि केसी र उहाँकी श्रीमती फेरि भारतमा नोकरीका लागि जान लाग्नु भएको थियो ।
छोरीलाई उच्च शिक्षा पढाउने रहरले भारतमा जाँदै गरेका केसी गन्तब्य स्थलमा नपुग्दै बिच बाटोमै अस्ताउनुभयो । छोरीलाई उच्च शिक्षा दिने उहाँको त्यो सपना चकनाचुर भएको उहाँको आफन्तले जनाएको छ ।


