कैलाली।नेपाली कांग्रेस कैलाली सभापति पदकालागि दोस्रो चरणको निर्वाचन भोलि हुने जनाइएको छ । भोली (बिहीबार)_हुन लागेको सभापति पदका लागि दोस्रो मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने जनाइएको हो ।
नेपाली कांग्रेस कैलालीको दोस्रो चरणको मतदानका लागि नयाँ स्थान तोकिएको छ। बुधबार निर्वाचन समितिले भोली बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गरिने भनी सूचना जारी गरेको छ । निर्वाचन समितिले सोही अनुसार संघको प्राङ्गणमा मतदानको तयारी थालेको छ । मतदानलाई सभ्य, निष्पक्ष बनाउन मतदाताहरुमा कडाई गरिएको छ ।
पहिलो चरणमा पार्टीले वितरण गरेको कार्ड लिएर मतदाताहरुले मतदान गरेका थिए । सो समयमा एकै जनाले अन्यको नाममा धमाधम मतदान गरेको प्रतिष्पर्धामा रहेका संस्थापन पक्षका दुबै उम्मेदवारहरुको आरोप रहेको थियो । दोस्रो चरणमा त्यस्तो हुन नदिन परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ ।
अधिवेशन मुल समारोह समितिका संयोजक तथा प्रदेश महामन्त्री नरनारायण शाह मनुले जारी गरेको सूचनामा भनिएको छ –‘भोली हुने दोस्रो चरणको मतदानका लागि सहभागिहरुले आ–आफ्नो परिचयपत्र, नागरिकता वा परिचय खुल्ने कार्ड लिएर पाल्नुहुन जानकारी गराउदछौं ।’ दोस्रो चरणको निर्वाचनमा पूर्व उपसभापति तथा जनआन्दोलनका घाइते नेता नारायणदत्त भट्ट र पार्टीका वर्तमान उपसभापति प्रकाश बमबिच प्रतिष्पर्धा हुने छ ।


