कैलाली। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया सुरु भएको छ ।
फागुन १४ गतेदेखि जारी प्रदेश समिति बैठकबाट सर्वसम्मत पदाधिकारी छनोटको प्रयास सफल नभएपछि चुनाव भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए। प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढी स्थीत रिद्धीसिद्धी प्यालेसमा मतदान सुरु भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।
प्रदेश कमिटी सदस्यबाट मतदाता २१६ जना रहेका छन् । गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो । २२३ सदस्यीय प्रदेश समितिमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एकजना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले उम्मेदवारी दिएका छन् ।


