धनगढी। नेकपा एमालेका प्रदेश सभा सदस्य लिलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट भ्रष्टाचार र लुटतन्त्र मच्चाउनेगरी बजेट ल्याइएको बताएका छन् । शुक्रबार सुदुरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि धारणा राख्दै उनले भ्रष्टाचार र लुटतन्त्र मच्चाउने गरी बजेट ल्याइएको बताएका हुन्। बजेटमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको उल्लेख गर्दै उनले अमुख व्यक्तिको घरजाने बाटो निर्माणका लागि ६ करोड बजेट हाल्दा प्रदेश गौरवका योजनामा एक करोड हालिनु दुःखद् भएको बताए ।
सरकारले प्राइभेट कम्पनीहरुका नाममा समेत गैरकानूनी तरिकाले करोडौं बजेट हालेर भ्रष्टाचार गर्न खोजेको बताए। मन्त्री र पहुँचवाला नेताका क्षेत्रमा करोडौँ रुपैयाँ बजेट हालिएको तर कतिपय आवश्यक भएका ठाउँमा सरकारले बजेट नहालेको आरोप उनले लगाए । अछाममा जिल्लाभरिका सडकका लागि जम्मा पाँच करोड छुट्याएको सरकारले नेता भीम रावलको घर जाने सडकमा भने छ करोड बजेट हालेको भट्टले बताए ।‘अछामका ६० वटा सडकमा जम्मा पाँच करोड बजेट छ । तर कुनै एक जना नेताको घर जाने बाटोमा मात्रै छ करोड हालिएको छ ।’ भीम रावलको नाम नलिएरै भट्टले भने । नीति तथा कार्यक्रममा नभएका र एजेण्टले ल्याएका योजनामा बजेट परेका र सरकारले एजेण्टबाट काम गरिरहेको उनको आरोप थियो । कुनै कम्पनी र फमको नामै तोकेर सरकारले पाँच करोड दिएको भन्दै उनले आलोचना गरे । भट्टले भने, ‘रातो किताबमा कुनै फर्म र कम्पनीको नामै तोकेर बजेट दिइएको छ । यो संस्थागत भ्रष्टाचारको नमुना हो । दुनियामा कहीँ नभएको कुरा गरिएको छ ।’
एक जिल्ला एक नमुना उद्योगका लागि पाँच लाख छुट्याइएको तर एक जिल्लामा विशेष खालका मन्दिर बनाउनु भनेर एउटै मन्दिरमा ५०/६० लाखसम्म छुट्याइएको उनले बताए । बजेटको भागवण्डामा रमाएको भन्दै भट्टले प्रतिपक्षी काँग्रेसको पनि आलोचना गरे । ‘प्रतिपक्षीको लोकतन्त्र भनेको सम्झौता र गोपनीय भागवण्डामा आधारित छ ।’ काँग्रेसलाई लक्षित गर्दै उनले भने, ‘हिजो नीति तथा कार्यक्रम आउँदा त्यसअघि अध्यादेश ल्याउनु पर्छ भनेर काँग्रेसले भनेन तर रातो किताबमा योजना नपरेपछि अहिले विरोधमा उत्रिएको छ ।’
सार्वजनिक लेखा समितिको भूमिकामाथि पनि उनले प्रश्न उठाए। नेपाल पक्षका सांसदलाई लक्षित गर्दै भट्टले पार्टीको निर्णय उल्लंघन गरेर राज्यस्रोतको दोहन गरिरहेको आरोप लगाए। आफूहरुलाई सदनमा बोल्न नदिने प्रयास भएको भन्दै उनले सात जनाले लिखित माग गरेपछि समय पाएको बताए । प्रदेश सभामा एमालेका २४ सांसदमध्ये ओली पक्षमा सात जना छन् । सातै जनाको क्षेत्रमा सरकारले बजेट नदिएको भन्दै उनले आक्रोश पोखे ।