धनगढी। संघिय सरकारबाट वन तथा वातावरणमन्त्री बनेका नारदमुनि रानाको ११ दिनमै पद गएको छ । जेठ २७ गते प्रधानमन्त्री ओलीले सात जना मन्त्री तथा एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । गत बिहीबार वन तथा वातावरण मन्त्रीमा नारदमुनि रानाले पनी शपथ लिएका थिए । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि राना पनी वन तथा वातावरण मन्त्रीबाट पदमुक्त भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वत पदमुक्त भएको भन्दै उनले मन्त्रिपरिषद विस्तार गर्न नपाउने उल्लेख गरेको छ । संविधानको धारा ७७ (३)को उपधारा १ मा प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने व्यवस्था उल्लेख भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद विस्तारको अधिकार प्रधानमन्त्रीमा नदेखिने आदेश दिएको छ ।
गत बिहीबार वन तथा वातावरण मन्त्रीमा नारदमुनि राना सहित गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्रीको रुपमा शपथ लिएका थिए ।