धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चन्दलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गर्दै प्रशंसापत्र प्रदान गरेको हो।
जिल्लाको अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा कायम र प्रहरी परिचालनलाई योजनाबद्ध तथा प्रभावकारी बनाएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी व्यावसायिकता, निष्ठा, लगनशीलता र कर्तव्यनिष्ठताका साथ निर्वाह गर्दै आम नागरिकमा सुरक्षाको अनुभूति गराउन तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले उनलाई प्रशंसापत्र प्रदान गरेका हुन्।
चन्दले कैलाली प्रहरीको नेतृत्व सम्हालेपछि जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र समग्र शान्ति सुरक्षा व्यवस्थापनमा पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको प्रशंसापत्रमा उल्लेख छ।



