धनगढी: डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शिखर नगरपालिका–७ वोक्टा गाउँका ४८ वर्षीय देवबहादुर खत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज (मंसिर १ गते) बिहान ११ः३० बजेको समयमा शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा खत्री डुबेका थिए।
नदीमा डुबेको अवस्थामा रहेका उनलाई उनका भाइ शेरबहादुर खत्री र प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याएको थियो। गम्भीर अवस्थामा उपचाररत खत्रीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


