धनगढी । शान्ति सुरक्षा कायम गर्न तथा लागूऔषध, घरेलु तथा लैङ्गिक हिंसा, आत्महत्या, झैझगडा, बालविवाह, बहुविवाहलगायतका सामाजिक विकृति र विसङ्गति नियन्त्रण गर्न धनगढी उपमहानगरपालिका–१२ ले ६० दिने अभियान सुरु गरेको छ। अभियानअन्तर्गत ६० दिनसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम, सरसफाइ, सचेतनामूलक र्याली, बालमैत्री वडा घोषणा, व्यवसाय अनुगमनलगायतका गतिविधि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ। खेलकुद गतिविधि, बाल क्लब तथा युवा क्लबसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
वडा अध्यक्ष शेरबहादुर महराका अनुसार अभियान अवधिमा विभिन्न समूह गठन, ज्येष्ठ नागरिक सम्मान तथा नगर र वडाबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिइनेछ। चोरी, हिंसात्मक गतिविधि, कुरीति र कुसंस्कार नियन्त्रण अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। वडा अध्यक्ष महराले धनगढी–१२ मा विगतदेखि नै यस्ता अभियान सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँका अनुसार एक वर्ष ४५ दिने र अर्को वर्ष ३५ दिने अभियान सञ्चालन गरिएको थियो। ती अभियानको प्रभाव सकारात्मक देखिएपछि यसपटक ६० दिने अभियान सञ्चालन गरिएको हो।
बजार क्षेत्रभन्दा केही पछाडि रहेको धनगढी–१२ मा विगतमा कुरीति, कुसंस्कारसँगै आपराधिक गतिविधि पनि बढेको वडा अध्यक्ष महराको भनाइ छ। विगतमा साँझ परेपछि महिलालाई एक्लै हिँड्नसमेत समस्या हुने गरेको र त्यसलाई नियन्त्रण गर्न प्रहरीसँगको समन्वयमा जनप्रतिनिधि रातिको गस्तीमा समेत खटिएको उहाँले बताउनुभयो। विशेषगरी आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध तथा घरेलु मदिराविरुद्ध अभियान सञ्चालन गरिएपछि अहिले अवस्था सुधारोन्मुख रहेको उहाँको दाबी छ। यसपटक पनि यस्ता गतिविधि नियन्त्रणसँगै नागरिकका समस्या प्रत्यक्ष सुन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
अभियानको ५३ दिनसम्म विभिन्न गतिविधि सञ्चालन गरिनेछ भने अन्तिम सात दिन ‘वडा विशेष महोत्सव’ आयोजना गरिने वडा अध्यक्ष महराले बताउनुभयो। महोत्सवमा वडा नम्बर १२ का सांस्कृतिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। वडासँग सहकार्य तथा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारीसमेत गरिएको छ। वडा सचिव हरिप्रसाद भट्टले नागरिकसँग नजिक हुने र वडाले गरेका कामको प्रभावकारिता बुझ्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार काम गर्नु मात्रै पर्याप्त नभई त्यसको प्रभावकारिता र नागरिकमा परेको प्रभावबारे जानकारी लिनु पनि आवश्यक छ।
विगतमा आपराधिक गतिविधि बढी हुने वडाका रूपमा चिनिएको धनगढी–१२ लाई यस्ता अभियानमार्फत क्रमशः सफा, सुरक्षित र शान्त वडाका रूपमा स्थापित गर्ने लक्ष्य वडा कार्यालयले लिएको छ।


