कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै तीन महिनापछि चालु आर्थिक वर्षको बजेट पारित भयो। पूरक बजेट ल्याउने गरी पारित गरिएको बजेट अहिले कार्यान्वयनमा गइसकेको छ। तर, बजेट संशोधनका लागि प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाउने कार्यदल गठनमै सहमति जुट्न सकेको छैन।
बजेट पारित गर्नुअघि सभामुख भीमबहादुर भण्डारीले बजेटको अध्ययन गरी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित सात सदस्यीय सर्वदलीय संसदीय समिति गठन गर्ने घोषणा गरेका थिए। सोही समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सरकारको तयारी थियो।
तर, सभामुखले प्रतिवेदन बुझाउन दिएको समयसीमा नजिकिँदै गर्दा पनि कार्यदल गठन हुन सकेको छैन। नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेले कार्यदलमा रहने सदस्यको नाम सिफारिस गरिसकेका छन्। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म नाम दिएका छैनन्।
स्रोतका अनुसार एमालेले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र प्रमुख सचेतक तथा पूर्वमन्त्री सुरेन्द्रबहादुर पालको नाम सिफारिस गरेको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पूर्वमन्त्री नरेशकुमार शाही, कैलाश चौधरी र लक्ष्मी विकको नाम सिफारिस गरेको जनाएको छ।
कांग्रेसले भने बजेटमा गम्भीर त्रुटि भएको स्वीकार गरिसकेको सरकारले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने भन्दै मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्दै आएको छ।
‘सरकारका मन्त्री, मुख्यमन्त्री र सभामुखले समेत बजेट गलत छ भनेर संसद्मै बोलिसक्नुभएको छ। गलत बजेट ल्याउने सरकारलाई कुन नैतिकताले अझै पदमा बसिरहन शोभा दिन्छ ?,’ निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘बजेटमा छेडखानी गर्ने सरकारले प्रदेशको नेतृत्व गर्न सक्दैन।’
राप्रपा सांसद खेमादेवी विष्टले भने सबै दलबीच सहमति हुने अवस्थामा आफू कार्यदलमा बस्न तयार रहेको बताएकी छन्। कुनै दललाई निषेध गरेर अघि बढेमा आफ्नो पनि विरोध रहने उनको भनाइ छ।
‘हामीसँग हिजो पनि छलफल भएको थिएन, अहिले पनि छलफल भइरहेको छैन। बजेट पारित गर्दा पनि समन्वय नगर्ने, अहिले पनि नगर्ने अनि हामी किन समितिमा बस्नुपर्ने ?,’ उनले भनिन्, ‘सबै दललाई समेटेर कार्यदल गठन गर्ने हो भने ठीक हो। नत्र उपभोक्ता समिति जस्तो कार्यदल बनाएर काम छैन।’
संसद्बाटै प्रतिवेदन पेस गर्ने समयसीमा नजिकिँदै जाँदा पनि कार्यदल गठन हुन नसकेपछि सभामुख भण्डारीले पुनः यस विषयमा चासो देखाएका छन्। उनले आज दिउँसो साढे ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। आजको बैठकबाट कार्यदलले पूर्णता पाउने अपेक्षा गरिएको छ।
‘सबै दललाई समेटेर कार्यदल बनाउनेलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको हो,’ सभामुख भण्डारीले भने, ‘बैठकले केही निकास दिनेछ।’
सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने वा नहुने तथा संसदीय समितिमा बस्ने वा नबस्ने भन्ने निर्णय गर्न कांग्रेसले पनि आज संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलको बैठक बिहान ११ बजे बस्ने निवर्तमान मुख्यमन्त्रीसमेत रहेका दलका नेता शाहले बताए। यसअघि कांग्रेसले सर्वदलीय बैठकमा सहभागी नहुने र कार्यदलमा पनि नबस्ने निर्णय गरेको थियो।
‘आज हाम्रो संसदीय दलको बैठक छ। कार्यदल र सभामुखले बोलाएको बैठकबारे हामी छलफल गर्छौँ,’ उनले भने, ‘हाम्रा केही माग छन्। त्यस विषयमा निष्कर्षमा पुग्न चाहन्छौँ।’
सरकारले बजेट खराब भएको स्वीकार गरिसकेपछि त्यसको कार्यान्वयन रोकिनुपर्ने कांग्रेसको माग छ। अत्यावश्यक बजेट कार्यान्वयन गरेर अन्य बजेट रोक्दै संशोधन गर्न सरकार तयार भए आफूहरू पनि संवादका लागि तयार रहेको शाहले बताए।
तर, सरकारले बजेट कार्यान्वयन रोक्नेभन्दा पनि कार्यान्वयनकै क्रममा केही संशोधन गर्ने रणनीति लिएको छ।


