कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएको जंगली हात्तीमा रेडियो कलर जडानको काम सुरु भएको छ । मंगलबारदेखि निकुञ्ज प्रशासनले प्राविधिकसहितको टोली परिचालन गरेको हो ।
‘आज बिहानदेखि प्राविधिकहरूले काम सुरु गरेका छन्, एकपटक झाडीमा देखिएकाले डार्ट गर्न सकिएन,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘प्राविधिकहरू अहिले पनि हात्तीको खोजीमा छन् ।’ केही दिनयता उक्त पुच्छर नभएको हात्तीले मध्यवर्ती क्षेत्रमा बालीनालीसँगै घर भत्काउने गरेको छ । गत वर्ष यही हात्तीको आक्रमणबाट भीमदत्त नगरपालिका–१४ मा एक महिलाको मृत्यु भएको थियो ।
‘अपरेशन शुक्ला गजराज’ नाम दिइएको रेडियो कलर जडान कार्यका लागि निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल र नेपाली सेनासहित ३० जनाको टोली खटिएको छ । वरिष्ठ संरक्षण अधिकृत अर्यालका अनुसार हात्तीलाई सुरुमा डार्ट गरेर बेहोस पारिनेछ । त्यसपछि रेडियो कलर जडान गरेर निरन्तर अनुगमन गरिनेछ । यसले हात्ती बस्तीमा पसेर धनजनको क्षति कम गर्न सकिने अर्याल बताउँछन् ।


