धनगढी । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी केही दिन वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना देखिएपछि पूर्वतयारी र सतर्कतामा जोड दिइएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा। विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा उक्त अवधिमा देशभर वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार केही मोडेलले निश्चित स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन्। कतिपय मोडेलमा भने ७४१ मिलिमिटरसम्म वर्षाको संकेत देखिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
तर यस्तो वर्षा देशभर समान रूपमा हुने नभई केही निश्चित क्षेत्रमा केन्द्रित हुन सक्ने उनको भनाइ छ। उनले पूर्वानुमानको उद्देश्य त्रास फैलाउनु नभई सम्भावित जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्न सहयोग पुर्याउनु रहेको बताएका छन्।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिने क्रममा त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट विकसित हुने प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ। त्यसको प्रभाव नेपालतर्फ परेमा केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने उनको अनुमान छ।
मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन्। उनका अनुसार हाल उपलब्ध अधिकांश पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाएका छन्।
विशेषगरी असोज १० गते वर्षाको जोखिम बढी हुन सक्ने संकेत देखिएको उनले बताएका छन्। यद्यपि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ।
उपाध्यायले सम्भावित जोखिमलाई लिएर सर्वसाधारण आत्तिनुभन्दा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुन सक्ने सुझावसमेत दिएका छन्।
तर वर्षाको वास्तविक तीव्रता, अवधि र कुन क्षेत्रमा कति प्रभाव पर्छ भन्ने कुरा अहिले नै यकिन भइनसकेको उनले स्पष्ट पारेका छन्।
जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता मौसमी प्रणालीको दिशा र शक्ति परिवर्तन भइरहने भएकाले अहिले नै वर्षाको निश्चित मात्रा र प्रभावबारे निष्कर्ष निकाल्न हतार गर्न नहुने अवस्था छ।

