धनगढी । कसैका लागि २१ दिन सामान्य दिनजस्तै हुन सक्छन्। तर, आफ्ना मान्छेको खबर नपाएका परिवारका लागि यही २१ दिन वर्षौँजस्तै लाग्छन्। कैलालीको कैलारी गाउँपालिका–३ का ३४ वर्षीय विश्वराज चौधरी र वडा नम्बर ६ का २२ वर्षीय रोयल चौधरीका परिवारले अहिले यस्तै पीडा भोगिरहेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि दुवै जना परिवारको सम्पर्कमा छैनन्। विश्वराजका दुई नाबालक छोरा छन्। घरमा श्रीमती र वृद्ध आमा छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी कामको खोजीमा कहिले भारत त कहिले धनगढी पुग्ने गर्थे। यसपटक पनि परिवारको खर्च जुटाउने उद्देश्यले साथीहरूसँग रसुवाको माइलुङ क्षेत्रमा क्रसरमा काम गर्न पुगेका थिए।
तर, घरबाट निस्किएको केही दिनमै आएको बाढीले उनको जीवनको खबर नै परिवारबाट खोसिदियो। छोराहरूका लागि बाबा कहाँ छन् भन्ने जवाफ छैन। श्रीमतीका लागि श्रीमान् कहिले फर्किन्छन् भन्ने टुंगो छैन। आमाका लागि छोराको आवाज सुन्ने प्रतीक्षा अझै सकिएको छैन।
उता कैलारी–६ का रोयल चौधरीको परिवारको अवस्था पनि उस्तै छ।
२२ वर्षीय रोयल अविवाहित थिए। बुबा, आमा र एक बहिनीको जिम्मेवारी बोकेर उनी कामको खोजीमा रसुवा पुगेका थिए। धनगढीमा शैलुन चलाउने प्रयास गरेका रोयलले आम्दानी राम्रो नभएपछि साथीहरूको साथमा रसुवाको माइलुङमा क्रसरमा काम गर्न जाने निर्णय गरेका थिए।
भदौ ९ गते उनले आमासँग अन्तिमपटक कुरा गरेका थिए। त्यसपछि फोन आएन। पहिले नियमित रूपमा घरमा फोन गर्ने छोरो अचानक सम्पर्कविहीन भएपछि आमा राजकुमारी चौधरीको दिन छोराको खबर पर्खँदै बितिरहेको छ। फोन बज्दा आशा जाग्छ। अपरिचित नम्बर देख्दा पनि मनले छोराकै खबर आएको ठान्छ। तर, हरेकपटक त्यो आशा अधुरै रहन्छ।
गाउँलेले भने दुःखमा साथ छाडेनन्

दुवै परिवारको अवस्था थाहा पाएपछि कैलारी–२ का १० जना भलमन्साले सहयोग जुटाउने अभियान थाले। घर–घर पुगेर स्वेच्छिक रूपमा रकम संकलन गरियो। १० वटा टोलबाट १ लाख ७९ हजार १ सय ६६ रुपैयाँ जम्मा भयो। त्यसमध्ये विश्वराज र रोयलका परिवारलाई जनही ५० हजार ५५ रुपैयाँ प्रदान गरिएको भलमन्सा संयोजक धसनराम चौधरीले बताए।
बाँकी ७९ हजार ५६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको वडा नम्बर २ का अध्यक्ष विकास चौधरीले जानकारी दिए। उनका अनुसार दुवै परिवारलाई विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ। आगामी दिनमा गाउँपालिका र अन्य निकायबाट थप सहयोगका लागि पनि पहल गरिनेछ।
सहयोग रकम संकलनमा स्थानीय समाजसेवी तथा युवा व्यवसायी झनक प्रसाद खनालले पनि सुरुदेखि नै परिवारलाई आर्थिक सहयोगसँगै खोजी, उद्धार र प्रशासनिक प्रक्रियामा साथ दिँदै आएका छन्।
परिवारलाई अहिले रकमभन्दा ठूलो खबर चाहिएको छ सहयोग पाएपछि दुवै परिवारले सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा थप सहयोगको अपेक्षा पनि उनीहरूले गरेका छन्। तर, उनीहरूको प्राथमिकता एउटै छ। आफ्ना मान्छेको खबर। विश्वराजका नाबालक छोराहरूलाई बाबु कहिले घर आउँछन् भन्ने थाहा छैन। रोयलकी आमा छोराको फोनको प्रतीक्षामा छिन्। बाढी आएको २१ दिन बितिसकेको छ। समय अघि बढिरहेको छ। तर, यी दुई परिवारका लागि समय त्यही दिन अड्किएको छ—जुन दिन उनीहरूका आफन्त अन्तिमपटक सम्पर्कमा थिए।

