धनगढी । सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेका छन् । तीमध्ये ४९३ जना एसईई उत्तीर्ण गरेका युवा छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण गरेका २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए ।
तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा लागुऔषध सम्बन्धी अपराधमा पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ८४५ वटा मुद्दा दर्ता हुँदा ७९६ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ६९३ मुद्दा दर्ता हुँदा १ हजार ४३ जना पक्राउ परे । आर्थिक वर्ष २०८२/८३ मा ६९४ मुद्दा दर्ता हुँदा पक्राउ पर्नेको सङ्ख्या बढेर १ हजार १४६ पुगेको छ ।
गत आर्थिक वर्षमा जिल्लागत रूपमा कैलालीमा सबैभन्दा धेरै ६३६ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ४१६ जना, डडेल्धुरामा १२, डोटीमा ७, बैतडीमा १५, दार्चुलामा २१, बझाङमा २४, बाजुरामा ४ र अछाममा ११ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा लागुऔषधको समस्या बढी देखिनुको एउटा प्रमुख कारण भारतसँग जोडिएको खुला सीमा हो । भारतबाट विभिन्न नाका हुँदै लागुऔषध नेपाल भित्र्याउने र यहाँ बिक्री वितरण गर्ने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमवहादुर बिष्टले जानकारी दिए ।

