धनगढी । बाजुराका सम्पर्कविहीन व्यक्ति लामो समयसम्म फेला नपरेपछि उनीहरूका आफन्तले काजक्रिया गर्न थालेका छन्। सम्पर्कविहीन भएको २० दिनसम्म पनि कतै फेला नपरेपछि आफन्तले हिन्दू धर्मअनुसार काजक्रिया सुरु गरेका हुन्।
सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाका अनुसार उहाँका श्रीमान् सम्पर्कविहीन भएको २० दिन भइसकेको छ। अझैसम्म फेला नपरेपछि उहाँले पनि काजक्रिया गर्ने तयारी गर्नुभएको छ।
काजक्रिया गर्ने तयारीबारे उहाँले भन्नुभयो, “अब महिना जान दुई–तीन दिन मात्र बाँकी छ। हिन्दू धर्मअनुसार दोमासो लाग्ने भएकाले आउँदो असोज २ गतेदेखि श्रीमान्को काजक्रिया गर्ने तयारी गरेको छु।”
यता हिमाली गाउँपालिका–४, फैतीका बिसी पाण्डेलगायत सम्पर्कविहीन भएका दुई–चार जनाका आफन्तले भने काजक्रिया गरिसकेका छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू रसुवाको टिमुरेमा बसोबास तथा काम गर्दै आएका थिए। भदौ १० गते आएको बाढीपछि उनीहरू टिमुरेबाट सम्पर्कविहीन भएका हुन्।
बाढीपछि उनीहरूको अहिलेसम्म न सास न लास फेला परेको छ। सम्पर्कविहीनका आफन्तले विभिन्न ठाउँमा खोजी गरे पनि उनीहरू फेला पर्न सकेका छैनन्।

