काठमाडौं । पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि इन्तु न चिन्तु भएर रोएकी छन् । आफ्नो ५ वर्षको मिहिनेत खेर गएको भन्दै उनी मोबाइलको क्यामरा खोलेर धेरै बेरसम्म भक्कानिइन् । नेपाली टिकटकर आयुषसँग बिहे गरेर नेपालमै बसिरहेकी एलिजेले आफू भक्कानिएको भिडिओ युट्युबमा राखेकी छन् । भिडिओमा देखिएअनुसार उनी मेकअप गर्दै थिइन् र कपाल कर्ल गर्न लागेकी थिइन् । त्यसबेला उनले इन्स्टाग्रामबाट केही अर्डर गरेकी थिइन् तर लोकेसन दिन बिर्सेकी थिइन् । लोकेसन दिन इन्स्टाग्राम खोल्दा नोटिफिकेसन देखिन् । त्यसपछि उनी रुवावासी गर्न थालिन् ।
एलिजेले भनेअनुसार उनको एकाउन्टविरुद्ध कपीराइट क्लेम भएको थियो । आफूले सधैँ अर्ग्यानिक कन्टेन्ट हाल्दा पनि कपिराइट लागेको भन्दै उनले दुख पोखिन् । ‘मलाई धेरै प्यानिक भइरहेको छ,’ उनी भन्दै थिइन्, ‘म धेरै रोइरहेकी छु, किनकि मैले यसमा धेरै मेहनत गरेकी थिएँ । अरूले अनौठा कुरा पोस्ट गरेर लाखौँ फलोअर्स पाउँछन्, तर मेरो सबै पोस्ट अर्ग्यानिक थिए ।’
यो अकाउन्ट आयुषलाई भेट्नुअघिको सन् २०२२ मा नै बनाएको उनले बताइन् । एलिजेले रुँदै भनिन्, ‘मैले कसैको कन्टेन्ट स्टिच पनि गरेकी छैन । ड्युएट पनि कहिल्यै गरेकी छैन । आफ्नै टिकटक बनाउँछु, आफ्नै कन्टेन्ट क्रिएट गर्छु । कसरी कपिराइट दिन सकिन्छ रु मैले भर्खर अपिल गरेकी छु । अकाउन्ट फर्किन्छ कि फर्कँदैन थाहा छैन ।’
उनी थप्छन्, ‘तिमीहरूलाई लाग्ला यो त सिर्फ एउटा अकाउन्ट हो । तर यस्तो हुँदैन । यसमा धेरै वर्षको मेहनत लाग्छ । यो हाम्रो जागिर नै हो । यसबाट हामीलाई काम आउँछ । मलाई धेरै नराम्रो लागिरहेको छ । धेरै दुःख लागेको छ ।’ ‘मसँग सधैँ यस्तै हुन्छ । कहिले खुट्टा दुख्छ, कहिले केही हुन्छ, कहिले अर्को कुरा । म आफैँलाई बुझ्न सक्दिनँ । यस्तो प्यानिक अवस्थामा पनि म भ्लग गरिरहेकी छु । यदि मेरो पुरानो अकाउन्ट फिर्ता आएन भने पनि म शून्यबाट फेरि सुरु गर्नेछु र नयाँ अकाउन्ट बनाएर अघि बढ्नेछु ।’
केही मानिसहरूले आफ्नो अकाउन्ट बन्द भएकोमा ‘राम्रो भयो’ भनेर कमेन्ट गरेकोमा उनले निकै दुःख व्यक्त गरिन् । आफूले कसैको नराम्रो नचिताएको र सबैलाई सम्मान गर्ने प्रयास गरेको बताउँदै उनले मानिसहरू किन यति धेरै घृणा गर्छन् भन्ने प्रश्न गरिन् ।

