धनगढी । बाजुरामा पहिरोमा परी त्रिवेणी नगरपालिका–९ ताम्सुकी प्रक्षिता थापा बेपत्ता हुनुभएको छ। उहाँको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बिहीबार राति गाउँमाथिबाट आएको पहिरोमा परी थापा बेपत्ता हुनुभएको हो। बेपत्ता थापाको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेन्द्र बोहराको नेतृत्वमा १७ जना र ईश्वरी बक्स गुल्म, थापाथली ब्यारेकबाट सहसेनानी प्रजेश सिंहको कमान्डमा ११ जनाको टोली घटनास्थलमा पुगेर थापाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो।
उहाँका अनुसार गाउँमाथिबाट आएको पहिरोले ताम्सुमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोमा परी सोही घरमा सुतिरहेका धर्म थापा र धौली रावल घाइते भएका छन्। घाइते दुवै जनाको स्वास्थ्य संस्थामा उपचार भइरहेको सूचना अधिकारी शाहीले बताए ।

