कञ्चनपुर । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरले प्रहरी नायब निरीक्षक पदमबहादुर थापालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । विभिन्न मुद्दाका अपराध अनुसन्धान तथा फैसला कार्यान्वयनसम्बन्धी कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै थापालाई सम्मान गरिएको हो । थापाले आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक ढंगले निर्वाह गर्दै प्रशंसनीय कार्यसम्पादन गरेका थिए ।
थापाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएर फरार रहेका धनगढी उपमहानगरपालिका–३ का ३१ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनमा पठाएका थिए । थापाको नेतृत्वमा श्रेष्ठलाई साउन २७ गते पक्राउ गरेको थियो । उनलाई कैलालीको धनगढीस्थित नवदुर्गा मन्दिरमा भएको कुटपिटबाट मृत्यु भएको घटनामा अदालतले दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो ।

