कञ्चनपुर: प्रहरीले बरामद गरेका चोरीका गरगहना सम्बन्धित गहनाधनीलाई हस्तान्तरण गरिएको छ । यहाँको दोधारा चाँदनी नगरपालिकाबाट बरामद गरिएका विभिन्न ३४ प्रकारका गहना बिहीबार सम्बन्धित गहनाधनीलाई हस्तान्तरण गरिएको हो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा जनप्रतिनिधि, भारतीय प्रहरी तथा पत्रकारको रोहबरमा सम्बन्धित गहना धनीलाई हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले दोधारा चाँदनी नगरपालिका–९, लङ्काटोलका पाँच स्थानीयबाट बरामद गरिएका गरगहना सम्बन्धित गहनाधनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको लुधियाना राजपुरस्थित साहिल धवनको घरमा कार्यरत बाजुराका रेखा धामीको सहयोगमा बाजुराकै आरुसी रोकाया र कञ्चनपुरका हिमाल धामीले गत जेठमा ती गरगहना चोरी गरेका थिए ।
साहुको उजुरीपछि चोरीमा संलग्न रहेको भन्दै भारतको पन्जाब पुलिसले रोकाया र धामीलाई नियन्त्रणमा लिएर ती गहना फिर्ता गर्न भनेको थियो । ती गहना भने दोधारास्थित भाइ लोकेश धामीको घरमा राखिएको बयान हिमालले प्रहरीसमक्ष गरेका थिए ।
भारतीय प्रहरीको नियन्त्रणमा रहेका रोकाया र धामीले ती गहना फिर्ता लैजानका लागि पाँच जना आफन्तलाई दोधारा पठाएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार ३२ गते दोधारास्थित लोकेशको घरमा पुगेर ती पाँच जनाको समूहले घरभन्दा बाहिर आँपको रूपमा लुकाएको अवस्थामा गरगहना फेला परेको थियो । उनीहरूले भारतीय प्रहरीको नियन्त्रणमा रहेका धामी र रोकायालाई छोड्न तथा गरगहना सुरक्षित राखिएको भिडियोमार्फत प्रमाण देखाएको फेला परेको प्रहरी निरीक्षक सोनीले बताउनुभयो ।
स्थानीयको खबरपछि लङ्काटोल पुगेको प्रहरी टोलीले भने घटनास्थलबाटै गरगहनासहित पाँचै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका पाँचै जनाको बयानपछि उनीहरूलाई दोस्रो दिन छाडेर गरगहनाधनीलाई सम्पर्कमा ल्याउन पठाइएको प्रहरी निरीक्षक सोनीले बताउनुभयो । गहनाधनी सम्पर्कमा आएपछि प्रहरीले बिहीबार दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशी, वडाध्यक्षसहितको रोहबरमा गहनाधनी ३४ वर्षीय साहिल धवनलाई छ वटा महँगा घडीसहित ३४ प्रकारका गहना हस्तान्तरण गरेको हो । गहना बुझ्दै धवनले चोरिएका गहना खोजी गरेर उपलब्ध गराएको भन्दै प्रहरीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
गहनाधनी धवनसँगै लुधिया पन्जाबका भारतीय प्रहरी हवलदार अम्रिन्दर दीप सिंह, पन्जाबका स्थानीय सन्तोक सिंह, लुदियानका स्थानीय बनिबकुमार र दीपककुमार गहना लिन भारतबाट दोधारा आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रावतले आवश्यक प्रमाणका आधारमा उनीहरूको पहिचान गरी भारतीय प्रहरीको उपस्थितिमा गहनाधनीलाई बरामद गरगहना हस्तान्तरण गरिएको बताउनुभयो ।

