धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रमुख सचेतक र सचेतकको जिम्मेवारी हेरफेर गरेको छ। प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको मन्त्रीमा सिफारिस गरिएपछि उनको स्थानमा पूर्वभौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाललाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, सचेतक जानकी ऐर बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएपछि उक्त जिम्मेवारी निर्मला साउदलाई दिइएको छ। आज बसेको संसदीय दलको बैठकमा पाल र साउदले क्रमशः प्रमुख सचेतक र सचेतकको जिम्मेवारी सम्हालेका छन्। संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नयाँ जिम्मेवारी पाएका तथा मन्त्री र राज्यमन्त्रीमा सिफारिस भएका सबैलाई बधाई तथा शुभकामना दिएका छन्।

