धनगढी । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी कैलालीमा तीव्र पारिएको छ।
भेलालाई सफल बनाउन तथा कैलालीबाट बढीभन्दा बढी नेता–कार्यकर्ता र जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्तरमा तयारी अघि बढाइएको हो। यसैक्रममा शुक्रबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।
छलफलमा समूहका केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ५ का अगुवा नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि जोशीले राष्ट्रिय भेला पार्टीलाई थप सुदृढ, एकताबद्ध र लोकतान्त्रिक अभ्यासलाई संस्थागत बनाउने उद्देश्यका साथ आयोजना गरिएको बताए। उनले कैलालीबाट उल्लेख्य सहभागिता गराउन पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिने जानकारी दिए।
जोशीले पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई राष्ट्रिय भेलामा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै यसलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
काठमाडौंमा हुने उक्त राष्ट्रिय भेलालाई नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजक पक्षले जनाएको छ।

