धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब छ किलोमिटरको दुरीमा पर्छ पथरीगाउँ । धनगढी उपमहानगरपालिका–१७ मा रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन् । यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आम्दानी पनि लोभलाग्दो नै छ । कृषक गोपीराम चौधरी भन्नुहुन्छ, “गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन् । सबैले वर्षभरि नै व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।”
पथरीगाउँमा करिब दुई सय घरधुरी छन् । यहाँका सबै किसानले मौसमी, बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन् । तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले चार लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको चौधरीले बताउनुभयो । यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन । किसानका उत्पादन खरिद गर्न अत्तरिया, धनगढीका व्यापारी गाउँमै पुग्ने गर्छन् । कतिपय किसान धनगढी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्छन् ।
धनगढीनजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ । यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ ।”
चौधरी आफैँले १० कट्ठा जमिनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनुभएको छ । कृषिमा अग्रसर भएपछि गाउँको स्वरूपसमेत फेरिन थालेको छ । माटोको कच्ची घरबाट स्तरोन्नति हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन् ।
गाउँमा एउटा तरकारी सङ्कलन केन्द्र बनेमा किसानको लागत कम भई अझ बढी फाइदा हुने अर्का कृषक यज्ञराज चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गाउँमा तरकारी सङ्कलन केन्द्र नहुँदा अहिले किसान आफैँ बजारसम्म पुग्नुपर्ने अवस्था छ । यसरी बजार धाउँदा उनीहरूको लागत बढिरहेको छ ।”
पथरीगाउँमा उत्पादित तरकारी सङ्कलन गर्न सो गाउँको दक्षिण भागमा प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहकार्यमा सङ्कलन केन्द्र त बनाइएको छ तर ५५ लाख रुपियाँको लागतमा बनेको केन्द्र सञ्चालनमा छैन । चौधरी भन्नुहुन्छ, “यो केन्द्र सञ्चालनमा आएको भए किसानलाई आफ्नो उत्पादन बिक्रीका लागि बिहानै बजार पुग्नुपर्ने थिएन । व्यापारीले सङ्कलन केन्द्रबाट आफैँ उठाएर लान्थे ।” गोरखापत्र

