धनगढी । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरमा यस वर्ष १ भदौबाट मेला तथा पूजा सुरु हुने भएको छ । बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक भिड हुने भएकोले अगाडिबाट नै सुरु गरिने बताएका छन् ।
बडिमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । पुजारी पाध्यायले बडिमालकामा मुख्य पूजाका साथै अन्य समयमा पनि धेरै जना पुग्ने गरेकोले तिर्थालुहरूको सहजताका लागि अगावै पूजा सुरु गरिने बताए ।
गत वर्ष पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा मुख्य पूजा साउन २३ गते भए पनि १४ गतेदेखि नै नवाह लगाएर पूजाआजा सुरु गरिएको थियो ।
बडीमालिकामा लाग्ने हरेक वर्षको मेलामा देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडिमालिका जाने परम्परा छ । गत वर्ष करिब ४५ हजार बढी भक्तजन बडिमालिकाको दर्शनका लागि पुगेका थिए ।

